ग्रामीण नारी उत्थान संघको सामाजिक लेखा परीक्षण

हरिपुर – सर्लाहीको हरिपुरमा रहेको गैर–सरकारी संस्था ग्रामीण नारी उत्थान संघको शुक्रबार वार्षिक संस्थागत सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षता तथा हरिपुर नगरपालिकाका मेयर गोपाल पन्जियारको प्रमुख आतिथ्यतामा लालबन्दीस्थित एभरेष्ट होटलमा सामाजिक लेखा परीक्षण (सोसल अडीट) गरिएको हो । कार्यक्रममा हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, ईश्वरपुर नगरपालिकाकी उपप्रमुख रन्जितादेवी चौधरी, विभिन्न वडाका वडाध्यक्ष, हरिपुरका प्रमुख प्रशासकीय अधिकृत कमलबहादुर कार्की, हरिपुर र ईश्वरपुर नगरपालिकाका विभिन्न विषयगत शाखाका प्रमुख, अन्य कर्मचारी, विद्यालयका शिक्षक, बाल क्लबका पदाधिकारीलगायत सहभागी भएका थिए ।

कार्यक्रममा संस्थाले आगामी कार्ययोजना तथा रणनीति निर्माण गर्न अतिथि तथा सहभागीबाट सल्लाह, सुझाव लिने काम गरेको संस्थाका उपाध्यक्ष विष्णुप्रसाद चालिसेले जानकारी दिए ।