अर्गानिक तरकारीले मूल्य नपाएको गुनासो

सर्लाही, लालबन्दीमा तरकारी खेतीलाई व्यावसायिक रूपमा अघि बढाइएको छ। यस क्षेत्रका किसानहरूको जीविकोपार्जनको मुख्य आधार तरकारी खेती नै हो। पछिल्लो समय यहाँका किसानहरूले जैविक तरकारी खेतीलाई प्राथमिकता दिएका छन्। लालबन्दी वडा नं. १०, ११, र १२ का किसानहरूले हरिपुरस्थित ग्रामीण नारी उत्थान संघको सहयोगमा जैविक विधिबाट तरकारी खेती गर्दै आएका छन्। यो कार्यक्रम लालबन्दी नगरपालिकाको सहकार्यमा ग्राउन्ड्सवेलको सहयोगमा संचालित छ।

लालबन्दीका नगरप्रमुख वासुदेव अधिकारी, उपप्रमुख कल्पनामाया पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत वसन्त न्यौपाने, ग्राउन्ड्सवेलका दक्षिण एसियाली प्रमुख नवराज उपाध्याय, ग्रामीण नारी उत्थान संघकी अध्यक्ष गोमादेवी न्यौपाने, उपाध्यक्ष विष्णु चालिसे, सचिव सूर्य चालिसे, वडाध्यक्षहरू र सञ्चारकर्मीलगायतको टोलीले किसानहरूको जैविक तरकारी खेतीको अनुगमन गरेका छन्।

अनुगमनका क्रममा हिरापुर महिला समूहकी सचिव पवित्राकुमारी दंगालले अर्गानिक तरिकाले खेती गरे पनि बजारमा विषादी प्रयोग गरिएका तरकारीसँग प्रतिस्पर्धा गर्न कठिन भएको बताइन्। उपभोक्ताहरूले चिल्लो र आकर्षक देखिने तरकारीलाई प्राथमिकता दिने भएकाले अर्गानिक तरकारीको बजार राम्रो नभएको उनको गुनासो थियो।

महिला सुधार बचत समूहकी सचिव मिना विश्वकर्माले जैविक मल उत्पादन गर्न गाईभैंसीको गोबर आवश्यक भएको बताउँदै, संस्थाले बाख्राहरू मात्र उपलब्ध गराएकाले गोबरको लागि अन्यत्र जानुपर्ने बाध्यता रहेको बताइन्। उनले संस्थाबाट प्राप्त बाख्राहरूले दैनिक जीवनयापनमा सहयोग पुर्याएको पनि उल्लेख गरिन्।

नगरप्रमुख वासुदेव अधिकारीले किसानहरूको समस्या समाधान गर्न लालबन्दी बजारलाई व्यवस्थित गर्दै जैविक तरकारीको लागि छुट्टै व्यवस्था गर्ने योजना रहेको बताए। साथै, उपभोक्ताहरूलाई अर्गानिक र विषादीयुक्त तरकारीको बीचमा फरक छुट्याउन सहजीकरण गर्ने कार्यक्रमको पनि योजना रहेको जानकारी दिए।

थप जानकारीका लागि: यहाँ क्लिक गर्नुहोस्