दुर्गाप्रसाद भट्टराई/सर्लाही ।
सर्लाही, चैत ६ – सेतो फुलेको दारी र कपाल । दुब्लो शरीर, हेर्दै कमजोर देखिनुहुन्छ जानकीनगर–४ चाईना टोलका देवनारायण महतो । पहिला उहाँ यस्तो हुनुहुन्नथ्यो रे, तर छोरा विदेश पठाउँदा लागेको ऋणको पीरले उहाँको ज्यान सुकेको छ ।
चार वर्ष मलेसिया बसेर फर्किएका देवनारायणका जेठा छोरा जयकुमारलाई देवनारायणले कहिलेसम्म विदेशमा अब त बिहे गर्न आग्रह गर्नुभयो । जयराम पनि त्यसमा सहमत हुनुभयो ।
बिहे गरेको दुई वर्षमा मलेसियाबाट कमाएर ल्याएको पैसा जयकुमारलाई समस्या पर्यो । त्यतिञ्जेलसम्म उहाँले घर बनाउनुभएको थिएन । दुई वर्षमा दुई सन्तानका बुवा भइसकेका जयकुमारलाई छोराछोरीको भविष्यको चिन्ताले पनि पिरोल्यो । त्यसैले उहाँले बुवासँग साउदी जाने प्रस्ताव गर्नुभयो । ‘अहिले दुःख नगरेपछि सुख पाइँदैन के गर्नु भनेपछि मैले पनि रोक्न सकिन’ देवनारायण भन्नुहुन्छ ‘राम्ररी बुझेर चिनेको मान्छे मार्फत जान सुझाव दिएँ ।’
त्यसको ७ दिनमै सिरहा वैतनाका एजेण्ट वीरेन्द्रकुमार यादव उहाँकै घरमा आइपुगे । उनले साउदीको कम्पनीमा काम राम्रो अनि तलब ४० हजार हुन्छ, भनेपछि जयकुमार जान तयार हुनुभयो । एजेण्टले एक हप्ताभित्र भिसा आउने भने, तर देवनारायणका बाबुछोरासँगै पैसा थिएन एजेण्टलाई दिने ।
घरमा नभएपछि देवनारायणले छोरालाई ससुरालीतिर गएर खोज्न भन्नुभयो । जयकुमारले ससुराली गाउँबाट एक लाख रुपैयाँ ऋण लिनुभयो । त्यो पनि महिनामा ३ हजार रुपैयाँ ब्याज तिर्ने गरी । २०७३ जेठ १५ गते एजेन्ट वीरेन्द्रले भिसा आयो भन्दै ५० हजार मागे । जयरामले भिसा नहेरी पैसा नपठाउने भनेपछि विरेन्द्रले फोटो खिचेर पनि पठाइदिए । त्यसपछि ५० हजार रुपैयाँ लिएका वीरेन्द्र एक महिनासम्म सम्पर्कबिहीन भए ।
एक महिनापछि फेरि वीरेन्द्रले ५० हजार रुपैयाँ पठाइदेउ १० हजार चाहिँ एयरपोर्टमा दिनु भन्दै फोन गरे । जेठ १९ गते उनको नाममा ५० हजार जम्मा गरेपछि उनले भोलिपल्टै काठमाडौं बोलाए । एजेन्टको फोन आएपछि जयराम बुवाछोरा हतारिँदै काठमाडौं आए । गौशालाको होटलमा राखेर एक दुई दिनमा हुन्छ भनेर हिँडेका एजेण्ट वीरेन्द्र एक दुई दिन होइन दुई महिनासम्म फर्किएनन् । ‘आज आउला, भोलि आउला भन्दै कुरेको कुरै भयौं’ जयराम भन्नुहुन्छ ।
दुई महिनापछि वीरेन्द्रले भोलि उड्ने हो एयरपोर्ट आउनु भनेर बोलायो । होटलमा छोडेर दुई महिना हराएका वीरेन्द्रले फेरि पनि धोका दिने हुन कि भन्ने शंका थियो, उहाँहरुलाई । तर विश्वास गर्नुको विकल्प पनि थिएन । होटलमा बस्दाको झण्डै खर्च भन्दै साहुले १५ हजार मागेपछि बुवा छोरा झस्किए । जताततै पैसा माग्न थालेपछि जयरामले वीरेन्द्रलाई फोन गर्नुभयो । उनले आफुले १५ हजार तिरेको भन्दै १५ हजार तिरेर आओ एयरपोर्टमै मिलाउने भनेपछि घरबाट लिएर आएको झोला लिएर भदौ २१ गते विमानस्थल पुग्नुभयो ।
तर गौशालाको होटलमा छोडेर हिँडेका वीरेन्द्रले त्यहाँ पनि धोका दिए । एयरपोर्टमा वीरेन्द्रले नदेखेपछि जयरामले फोन गर्नुभयो, तर फोन अफ थियो । ‘त्यो दिन बाबु छोरा ६ बजेसम्म एरपोर्टमा बस्र्यौ । वीरेन्द्र आएन पनि फोन पनि आएन । त्यसैले राती ७ बजे सर्लाही फक्र्यौं’ देवनारायणले भन्नुभयो ।
उड्न नपाइ घर फर्किनु परेपछि जयराम घर पुग्ने बित्तिकै सिरहा पुग्नुभयो । तर वीरेन्द्र भेटिएनन् । परिवारले ऊ काठमाडौंतिर बस्छ, भन्दै यस्ता कुरा लिएर नआउन भनेपछि जयराम अझै समस्यामा पर्नुभयो ।
प्रमाण हुँदा पनि कारवाही गर्न सकिएन
जयरामले वीरेन्द्रलाई पैसा दिएको रसिद पनि छ, तर अहिलेसम्म पनि न त्यो पैसा फिर्ता गराउन सक्नुभयो न त उनलाई कारवाही गर्न नै । त्यही प्रमाण लिएर बुवाछोरा सर्लाहीको हरिऔनमा रहेको सूचना तथा परामर्श केन्द्रमा पुग्नुभयो । तर एजेण्ट सिरहाकाे भएकाले उहाँहरुको निवेदन जिल्ला विकास समितिद्वारा सञ्चालित सिरहाकाे सूचना केन्द्रमा पठाइएको सर्लाहीको हरिऔनमा रहेको सूचना केन्द्रका परामर्शकर्ता लालकिशोर भण्डारीले जानकारी दिनुभयो ।
‘रसिद त छ नि, तर अब कसरी पैसा फिर्ता लिने मलाई केही थाहा छैन’ जयरामले भन्नुभयो । सुरुमा फोन उठाउने वीरेन्द्रको अहिले त फोन पनि लाग्दैन । त्यसैले अहिले जयराम र देवनारायणले के गर्ने भन्ने सोच्न सक्नुभएन ।
महिनाको तीन हजार रुपैयाँका दरले पैसा बढिरहेकै थियो त्यसैले कुनै उपाय नभएपछि जयराम काठमाडौंकै अर्को म्यानपावरबाट साउदी जानुभएको छ । देवनारायण जयरामले लिएको पैसाको ब्याज तिरिरहनुभएको छ ।