समीक्षा बैठक सम्पन्न – ग्रामीण नारी उत्थान संघ

हरिपुरस्थित ग्रामीण नारी उत्थान संघ (RWUA) को वार्षिक समीक्षा बैठक सम्पन्न भएको छ। संस्थाकी अध्यक्ष गोमादेवी न्यौपानेको अध्यक्षतामा र जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकमा विभिन्न सरकारी र गैरसरकारी निकायका प्रमुख व्यक्तित्वहरूको उपस्थिति थियो।

बैठकमा संविधानसभा सदस्य रामचन्द्र चौधरी, जिल्ला समन्वय समितिका उपप्रमुख जितेन्द्र महतो, जिल्ला समन्वय अधिकारी कमलबहादुर कार्की, हरिपुर नगरपालिकाकी उपप्रमुख निलमदेवी राय यादव, नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए। बैठकमा RWUA को वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै, संस्था सचिव सूर्य चालिसे र कार्यकारी निर्देशक डा. कमलबहादुर थिङले संस्थाको वित्तीय वर्ष २०८०/८१ को उपलब्धि र कार्यक्रमहरूको बारेमा जानकारी गराएका थिए।

RWUA ले सेभ द चिल्ड्रेनको आर्थिक सहयोगमा सञ्चालित समुन्नति परियोजनाको प्रगति विवरण पनि प्रस्तुत गर्यो, जसमा ६ करोड ३१ लाख ८३ हजार दुई सय ९२ रुपैयाँ बराबरको कार्यक्रम सञ्चालन भएको थियो। साथै, अन्य परियोजनाहरू जस्तै शिडा, सिएफएम, पहुँच तथा ग्राउण्ड्सवेल कार्यक्रमहरूको वित्तीय विवरण र प्रगति पनि प्रस्तुत गरियो।

बैठकमा सहभागीहरूले संस्थाले गरेको कामको सराहना गर्दै आगामी दिनमा अझ प्रभावकारी ढंगले कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका थिए। संविधानसभा सदस्य रामचन्द्र चौधरीले RWUA ले समाजमा पुर्‍याएको सकारात्मक प्रभावको प्रशंसा गर्दै, सिएफएम परियोजनाले समाजमा प्रत्यक्ष लाभ पुर्‍याएको बताउनुभयो।

RWUA का कार्यहरू थोरै बजेटमा पनि प्रभावकारी ढंगले सम्पन्न भएको भन्दै, जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंहले अन्य संस्थाहरूले पनि RWUA बाट सिक्नुपर्ने आवश्यकता औंल्याउनुभयो।