मिति २०८२/०२/२८ गते, ग्रामीण नारी उत्थान संघ र Groundswell International को साझेदारीमा संचालित ALCM परियोजनाद्वारा एकता कृषि समूह र नयाँटोल कृषि समूहलाई लक्षित गर्दै नगर स्तरीय फिल्ड अवलोकन तथा अनुगमन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
कार्यक्रममा नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडा सदस्य, पशु सेवा शाखा प्रमुख, कृषि विकास शाखाका अधिकारी, पत्रकार, समाजसेवी तथा संस्थाका अध्यक्ष लगायतको उल्लेखनीय सहभागिता रह्यो, जसले स्थानीय कृषि विकास, महिला सशक्तिकरण, र सामुदायिक विकासको प्रवर्धन मा थप योगदान पुर्याएको छ।
ग्रामीण नारी उत्थान संघले सन् २०२२ देखि हरिपुर, ईश्वरपुर, र लालबन्दी नगरपालिकामा महिला सशक्तिकरण तथा दिगो/जैविक कृषि विकास कार्यक्रमहरू संचालन गर्दै आएको छ।अनुगमनको क्रममा महिला कृषकहरूले बचत तथा ऋण खाताको माध्यमबाट आर्थिक चुनौतीहरू समाधान गर्न सफल भएको बताए। साथै, जैविक मल, गँड्यौलामल, झोलमल लगायतका वैकल्पिक उपायहरू अपनाउँदा मानव स्वास्थ्य तथा वातावरणमा सकारात्मक असर परेको अनुभूति गरेका छन्।
नगर प्रमुख बासुदेव अधिकारी ज्यूले सामुदायिक बीउ बैंकको स्थापनालाई प्रशंसा गर्दै यस्ता कार्यक्रमलाई नगरपालिकाका अन्य क्षेत्रहरूमा विस्तार गर्न पहल गर्ने प्रतिबद्धता जनाउनुभयो।
साथै, किसानहरूले भोग्दै आएको सिंचाइ समस्यालाई समाधान गर्ने बाचा पनि गर्नुभएको छ।
प्रमुख प्रशासकीय अधिकृत तथा कृषि विकास शाखाका अधिकारीहरू ले गँड्यौला मल प्रविधि, कृषि वन प्रणाली, र स्थानीय झोलमल बिसादीको प्रवर्धन गर्दै व्यवसायीकरणका लागि नगरपालिकाद्वारा आवश्यक सहयोग उपलब्ध गराउने आश्वासन दिनुभएको छ।
यस नगर स्तरीय अनुगमन कार्यक्रम ले स्थानीय कृषकहरूलाई दिगो कृषि अभ्यासलाई विस्तार गर्न प्रेरित गरेको छ। सहकार्य र स्थानीय स्रोतहरूको अधिकतम उपयोग मार्फत समुदायको आर्थिक तथा सामाजिक सशक्तिकरण गर्ने लक्ष्यलाई अझ मजबुत बनाउने प्रयास गरिनेछ।
नगरपालिका तथा स्थानीय कृषकहरूको सहकार्यले सिंचाइको व्यवस्थापन, जैविक खेतीको विस्तार, तथा आर्थिक सशक्तिकरण मा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।