बालबालिका केन्द्रित कानून तथा बजेट प्राथमिकता छलफल कार्यक्रम सम्पन्न

सेभ द चिल्ड्रेन को आर्थिक तथा प्राविधिक सहयोगमा संचालित सम्मुनति परियोजना अन्तर्गत बालबालिकाका सवाललाई प्राथमिकता दिँदै, बालकेन्द्रित नीतिगत तथा कानूनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन तथा स्थानीय योजना, कार्यक्रम र बजेट तर्जुमा विषयमा महत्वपूर्ण छलफल कार्यक्रम मलंगवामा सफलता पूर्वक सम्पन्न भएको छ।
कार्यक्रम सेभ द चिल्ड्रेनको आयोजना तथा ग्रामीण नारी उत्थान संघ र राष्ट्रिय रोजगार प्रवर्धन केन्द्र को सहकार्यमा सम्पन्न भएको हो। कार्यक्रममा हरिपुर, इश्वरपुर, बलरा, र गोडैता नगरपालिका क्षेत्रका नगर प्रमुख, उप प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, स्वास्थ्य, शिक्षा, कृषि तथा महिला, बालबालिका एवं जेष्ठ नागरिक शाखा प्रमुख, बालकल्याण अधिकारी, स्थानीय बालअधिकार समिति संयोजक, बाल क्लब प्रतिनिधिहरू तथा साझेदार संस्थाहरूका पदाधिकारीको सक्रिय सहभागिता रहेको थियो।
छलफलमा बालबालिकासँग सम्बन्धित नीति तथा कार्यक्रम प्रभावकारी कार्यान्वयन, स्थानीय तह, प्रदेश र संघमा बाल बालिका सम्बन्धि भएका नीति , तथा बालमैत्री बजेट प्राथमिकता जस्ता विषयमा गहन बहस भएको थियो। सहभागीहरूद्वारा निम्न प्राथमिक क्रियाकलापहरूलाई बालमैत्री बजेटमा समावेश गर्न प्रस्ताव गरिएको छः
१. १००% विद्यालय भर्ना घोषणा
२. शून्य गृह प्रसूति घोषणा
३. बाल हिंसा रोकथाम कार्यक्रम
4. बालअधिकार संरक्षण अभियान
५. बाल संरक्षणका लागि referral system स्थापना गर्ने
६. बाल विवाह मुक्त घोषणा
७. बालकोष स्थापना
८. अपाङ्गता भएका बालबालिकाका लागि विशेष शिक्षण कार्यक्रम
९. शिक्षा तथा रोजगारी अवसर प्रवर्द्धन
१०. समुदायस्तरमा सचेतना कार्यक्रम
११. बाल क्लब सशक्तीकरण कार्यक्रम
१२. बाल प्रतिनिधिहरूको क्षमता अभिवृद्धि
१३. बाल केन्द्रित नीति संवाद
सहभागी स्थानीय तहका प्रतिनिधिहरूले आगामी आर्थिक वर्ष २०८२/८३ का बजेट तर्जुमा प्रक्रियामा बालबालिकाका प्राथमिकताहरूलाई समावेश गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उक्त छलफल कार्यक्रममा उठाइएका विषयहरूले बालबालिकाको अधिकार प्रवर्द्धन तथा स्थानीय नीति तथा योजना प्रभावकारी बनाउन महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।