जिल्लाका आइसोलेसन सेन्टरहरुलाई सहयोगी सामग्री हस्तान्तरण

मलंगवा – सर्लाहीका विभिन्न आइसोलेसन सेन्टरहरुका लागि आइतवार (आज) सहयोगी सामग्री प्रदान गरिएको छ ।

कोभिड–१९ प्रतिकार्य नवीनतम प्रयासको लागि डिएफआइडी अष्टे«लिया, वाटर फर ओमेन, एसएनभी नेपालको आर्थिक सहयोग तथा ग्रामीण नारी उत्थान संघ हरिपुरको सहजीकरणमा जिल्लाका चारवटा आइसोलेसन सेन्टरहरुका लागि कन्ट्याकलेस अर्थात हातको प्रयोग नै नगरी खुट्टाले चलाउन मिल्ने सामग्री प्रदान गरिएको हो ।

सदरमुकाम मलंगवामा आइतवार एक कार्यक्रमका बीच जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई उक्त सामग्री हस्तान्तरण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित सहयोगी सामग्री हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी भूमिश्वर पोखरेल, प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका जिल्ला प्रमुख दीलिप कुमार सिंह, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा. नवल किशोर झा र सहयोगी संघसंस्थाका प्रतिनिधिहरु सहभागी हुनुभएको  थियो ।


Source :
http://shorturl.at/wLMRS