ग्रामीण नारी उत्थान संघको ३० औँ साधारण सभा सम्पन्न, अध्यक्षमा पुनः न्यौपाने

हरिपुर – सर्लाहीको हरिपुर नगरपालिका–२, मा रहेको ग्रामीण नारी उत्थान संघको मंगलबार ३० औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

संस्थाकी अध्यक्ष गोमादेवि न्यौपानेको अध्यक्षता तथा संविधान सभाका सदस्य रामचन्द्र चौधरीको प्रमुख आतिथ्यतामा संस्थाकै सभा हलमा साधारण सभा सम्पन्न भएको हो । सो सभामा हरिपुर नगरपालिकाका मेयर गोपाल पंजियार, उपमेयर निलमदेवी राय यादव, विभिन्न वडाका वडाध्यक्ष, हरिपुरका अगुवा, संस्थाका सदस्यलगायतको आतिथ्यता रहेको थियो ।

साधारण सभामा संस्थाले संचालन गरेका पहुँच परियोजना, समुन्नति परियोजना, सिडा परियोजनालगायत अरु परियोजनाले गरिरहेका गतिविधि र प्रगतिबारे जानकारी गराइएको संस्थाका सचिव सूर्य चालिसेले जानकारी दिए । सोही अवसरमा संस्थाले आफ्ना पाँच जना सदस्यहरु ः शान्ति थापा, राजिव चौधरी, शोभतिया कुँवर, बिन्दा थापा र हरिप्रिया काफ्ले तथा पाँच जना कर्मचारीहरु ः मदन बर्मा, दीपक भण्डारी, ममता मुर्मु, शिवनारायण ठाकुर र हेमा थापालाई प्रमाण–पत्र र दोसल्लाबाट सम्मान गरेको छ ।

साधारण सभाकै अवसरमा सेद चिड्रेनको सहयोगमा लक्ष्मीनाथ प्राथमिक विद्यालय हरिपुर–७ चितायनलाई अध्यापनका लागि ३ थान डिजिटल बोर्ड र जनता प्राथमिक विद्यालय हरिपुर–९ ढापटोललाई एक थान ल्यापटप प्रदान गरिएको छ ।

यसैबीच, साधारण सभा अन्तर्गत मंगलबार नै भएको बन्दसत्रले पुनः गोमादेवी न्यौपानेकै अध्यक्षतामा सर्वसम्मत रुपमा संस्थाको ११ सदस्यीय कार्य समिति चयन गरेको छ ।

सदस्य सुलेखा महरा बिरामी परेपछि उनको स्थानमा टिकाकुमारी चौधरीलाई चयन गरिएको छ भने त्यसबाहेक अन्य सबै पदाधिकारी र सदस्यहरु दोहोरिएका संस्थाका उपाध्यक्ष विष्णु चालिसेले बताए ।