प्रदेशमै पहिलो सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको वडा घोषणा

सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिका–४, मा वडाभित्रका सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा गरिएको छ ।

सो वडाका ४ वर्षदेखि १२ वर्षसम्मका सतप्रतिसत अर्थात् सबै बालबालिकाको अनिवार्य शिक्षामा पहुँच सुनिश्चितता वडा घोषणा गरिएको हो । नगरपालिका, वडा कार्यालय, सेभ द चिड्रेन र ग्रामीण नारी उत्थान संघबीच समन्वय गरी विद्यालय बाहिर रहेकालाई विद्यालय भर्ना गराई तथा यसअघि नै विद्यालय भर्ना भएर पनि बीचमा पढाई छाडेका बालबालिकालाई पुनः विद्यालय भर्ना गराई वडाभित्रका सबै बालबालिका विद्यालय भर्ना भएको भनी शुक्रबार औपचारिक घोषणा गरिएको हो ।

मधेश प्रदेशमै यसरी पहिलो पटक सबै बालबालिका विद्यालय भर्ना गराइएको दावी गरिएको छ । सो वडामा ४ वर्षदेखि १२ वर्षसम्मका ५५३ जना बालबालिका छन् । तीमध्ये ४३९ जना बालबालिका सागरनाथमै सामुदायिक तथा निजी विद्यालय र ८८ जना बालबालिका अन्यत्र गएर पढिरहेका छन् ।

ग्रामीण नारी उत्थान संघ हरिपुरका उपाध्यक्ष विष्णु चालिसेले वडाका प्रत्येक घरधुरीमा पुगी सर्वेक्षण गरेर विद्यालय जान बाँकी रहेका र बीचमा पढाई छाडेका सबै बालबालिकालाई विद्यालय भर्ना गराइएको बताए । ईश्वरपुर नगरपालिका–४, सागरनाथस्थित खाल्टे बजारमा सोही वडाका वडाध्यक्ष प्रेमकुमार थिङको अध्यक्षतामा भएको सतप्रतिसत बालबालिका विद्यालय भर्ना भएको घोषणा कार्यक्रमका प्रमुख अतिथि मेयर मनोजकुमार आचार्यले नगरका बाँकी १४ वटा वडालाई पनि यसैगरी सबै बालबालिकालाई विद्यालय भर्ना गरी घोषणा समारोह गर्ने र उनीहरुले पढ्न पाउने अधिकार सुनिश्चित गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा यो अभियानमा समन्वयकारी भूमिका निर्वाह गर्ने ग्रामीण नारी उत्थान संघ र सेभ द चिड्रेनलाई वडा कार्यालयले कदर–पत्रबाट सम्मान गरेको छ । यता, वडा नं. ४ का केही वुद्धिजिवीहरुले वडाभित्र पर्ने खाल्टेबजार, मुसहरी टोल, शान्तिपुर, लेबर हाउस, डुम्रीटोललगायत बस्तीमा अत्यन्तै न्युन आयश्रोत भएका भूमिहिन सुकुम्वासी र सबैपरिवार इँटा भट्टामा जाने मजदुर धेरै भएकाले उनीहरुका बालबालिकालाई नियमित विद्यालय गइरहने वातावरण सिर्जना गर्नेतर्फ पनि ध्यान दिनुपर्ने बताएका छन् ।